पैसा दिए लिनु, गलत मान्छेलाई भोट नदिनुः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गलत मान्छेलाई भोट नहाल्न आग्रह गरेका छन्। सिराहामा आयोजित चुनावी सभालाई बुधबार सम्बोधन गर्दै लामिछानेले मधेशमा पैसा दिएर भोट माग्न आए पैसा लिन तर भोट नदिन आग्रह गरे।
प्रतिष्पर्धी दलहरुतर्फ लक्षित गर्दै लामिछानेले पैसामा भविष्य नबेच्न मतदातालाई अपिल गरे। ‘पैसा खर्च गरेर मधेशको भोट किन्ने मान्छेहरुलाई यसपटक खबरदारी गर्नुहोला। पैसामा आफ्नो भविष्य नबेच्नुहोला। लामिछानेले भने, ‘कसैले दिए भने लिए हुन्छ किनकि हाम्रो चोरेको पैसा हो त्यो। हाम्रै पैसा चोरेर लगेर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन। तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ।’
उनले प्रत्यक्ष र समानुपातिक दुबैमा भोट नदिए सरकार बनाउन बहुमत नपुग्ने भन्दै चुपचाप घण्टीमा छाप हान्न आग्रह गरे।